Rule 13
विद्यालयको कक्षा थप सम्बन्धी व्यवस्था
(१) कुनै विद्यालयले कक्षा थप गर्न चाहेमा शैक्षिक सत्र शुरु हुनुभन्दा कम्तीमा दुई महिना अगावै जिल्ला शिक्षा अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा जिल्ला शिक्षा अधिकारीले थप हुने कक्षाको लागि नियम ४ बमोजिमको पूर्वाधार पूरा भए वा नभएको सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा पूर्वाधार पूरा गरेको देखिएमा शैक्षिक सत्र शुरु हुनु अगावै प्रत्येक वर्ष एक कक्षाका दरले कक्षा थप गर्न अनुमति दिनु पर्नेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुनु अघि सञ्चालन भएका संस्थागत विद्यालय वा कल्याणकारी उद्देश्यले न्यून शुल्कमा गुणस्तर शिक्षा प्रदान गर्ने गरी सञ्चालन भएका विद्यालयले एकै पटक कक्षा एकदेखि कक्षा पाँचसम्म वा कक्षा छदेखि कक्षा आठसम्म कक्षा थप गर्न चाहेमा अनुमतिको लागि जिल्ला शिक्षा अधिकारी समक्ष निवेदन दिन सक्नेछ ।
(४) उपनियम (३) बमोजिम निवेदन परेमा जिल्ला शिक्षा अधिकारीले थप हुने कक्षाको लागि नियम ४ बमोजिमको पूर्वाधार पूरा भए वा नभएको सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा पूर्वाधार पूरा गरेको देखिएमा जिल्ला शिक्षा समितिको सिफारिस सहित त्यस्तो निवेदन निर्देशक समक्ष पठाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम प्राप्त भएको निवेदन सहितको सिफारिस जाँचबुझ गर्दा मनासिव देखिएमा निर्देशकले जिल्ला शिक्षा समितिको सिफारिस बमोजिम शैक्षिक सत्र शुरु हुनुभन्दा अगावै कक्षा थप गर्न अनुमति दिन सक्नेछ ।
(६) उपनियम (५) बमोजिम कक्षा थप सम्बन्धी अनुमति यो नियम प्रारम्भ हुनुभन्दा अघि सञ्चालन भएका संस्थागत विद्यालयको हकमा एक पटकको लागि मात्र दिन सकिनेछ ।